काठमाडौं, असार १४ – गोठाटार तेक्वान्दो डोजाङको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा तेक्वान्दो खेलका दुई अन्तर्राष्ट्रिय निर्णायक विकेश बिडारी र अस्मिता खड्कालाई सम्मान गरिएको छ। खेलकुद क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएका उनीहरूलाई शनिबार डोजाङ परिसरमा आयोजित समारोहमा सम्मान गरिएको डोजाङ प्रमुख प्रेम भण्डारीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रम कागेश्वरी मनहरा नगरपालिका–९ का अध्यक्ष अनिल थापा, बाह्रबीसे नगरपालिका–३ का अध्यक्ष जीवनकुमार भण्डारी, नेपाल तेक्वान्दो संघका प्राविधिक सल्लाहकार टार्जन सुब्बा र डोजाङ प्रमुख प्रेम भण्डारीको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।

विकेश बिडारीले सन् २०२३ को जुलाई ७ देखि १० सम्म थाइल्यान्डको बैंककमा सम्पन्न अन्तर्राष्ट्रिय रेफ्री कोर्स सफलतापूर्वक उत्तीर्ण गरेका थिए। उनले ग्योरोगी तथा पारा तेक्वान्दोको लेभल वान रेफ्री प्रशिक्षणसमेत पूरा गरेका छन्।
तेक्वान्दोकी पाँचौं डान ब्ल्याकबेल्ट अस्मिता खड्काले ग्योरोगी र पुम्से दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता प्राप्त गरेकी छन्। उनले सन् २०२४ को जुनमा मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय रेफ्री कोर्ससहित भारतको पुनेमा आयोजना गरिएको पुम्से रेफ्री कोर्स पनि उत्तीर्ण गरेकी हुन्।
वार्षिकोत्सवकै अवसरमा डोजाङले वर्ष २०८१ का उत्कृष्ट खेलाडी नेरिया श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ। त्यसैगरी सिनियर खेलाडीहरू सरिता तामाङ, कुमार तामाङ, माधव विश्वकर्मा र सुजाता पराजुलीलाई कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा जापानको ओसाका सहरमा गत अप्रिल २५ देखि २७ सम्म सम्पन्न २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी हृदयणी बस्नेतलाई पनि विशेष सम्मान गरिएको थियो।
२०७४ सालमा स्थापना भएको गोठाटार तेक्वान्दो डोजाङले स्थापना कालदेखि हालसम्म थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको छ। नवौं वार्षिकोत्सवको अवसरमा गरिएको सम्मान कार्यक्रममा सहभागिता जनाउने अधिकांश वक्ताहरूले डोजाङको योगदानको प्रशंसा गर्दै यस्ता सम्मान कार्यक्रमले खेलकुद क्षेत्रको हौसला अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए।














