नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चार वटा शक्तिले हमला गरिरहेको बताएका छन्।
एमालेले राष्ट्रहित र जनताका सवाललाई सशक्त ढंगले उठाउँदा यस्तो हमला भए पनि उनीहरूको स्वार्थ पूरा हुन नदिन एमालेले सशक्त प्रतिवाद गर्नुपर्ने उनले बताए।

एमाले काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई आज टोखामा सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन्।
पोखरेलले एमालेलाई राजावादी, कम्युनिष्ट नामका माओवादी, समाजवादी पपुलिष्ट राजनीति गर्नेहरू र विदेशी शक्तिहरूले हमला गरिरहेको बताए।
‘एमालेलाई मुख्यगरी अहिले चारवटा शक्तिले साइबर हमला गरिरहेका छन्। मुख्यगरी उनीहरू सामाजिक सञ्जालमार्फत् एमालेलाई कमजोर पार्न खोजिरहेका छन्। राजावादी, माओवादी, समाजवादी पपुलिष्ट र बाह्य शक्ति’ पोखरेलले भने, ‘एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पूरा हुने भएकोले उनीहरू हामीमाथि खनिएका हुन्।’
एमाले नभएको भए राजालाई नारायणहिटी लगेर श्रीपेच लगाइदिन यस्तो अवरोध हुने थिएन भन्ने लागेर राजावादीहरू एमालेविरूद्ध खनिएको उनले बताए।













