सिन्धुपाल्चोक, असार ५ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असार ७ गतेसम्म चीनको तिब्बत क्षेत्रबाट बग्ने भोटेकोशी नदीमा अत्यधिक वर्षा हुन सक्ने सम्भावनाबारे सतर्क रहन आग्रह गरेको छ ।
चीनको प्रहरी कार्यालयबाट प्राप्त जानकारीअनुसार आगामी दिनहरूमा भारी वर्षाका कारण भोटेकोशी र त्यससँग जोडिएको सुनकोशी नदीमा जलस्रोतको बहाव बढ्न सक्ने भन्दै प्रशासनले सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बुधबार सूचना जारी गर्दै भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका नदी किनारका वासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रशासनले स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालाहरूसँग समन्वय गरेर नदी किनार तथा जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सचेत गराउन निर्देशनसमेत दिएको छ । नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन र आवश्यक अवस्थामा सुरक्षित स्थानमा जान प्रशासनले सुझाव दिएको छ ।













