प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले २५ जेठमा अनेरास्ववियुको २४ औँ महाधिवेशन उद्घाटन गर्ने क्रममा अधिक समय पार्टी विधानको ७० वर्षे प्रावधान खारेजीको माहौल बनाउन खर्च गरिरहेका थिए । महाधिवेशनको मुखैमा अनेरास्ववियुमा ३२ वर्षे उमेर हद राखेर उनी आफूचाहिँ ७० वर्षे मापदण्ड फेल खाइसकेको बताउँदै थिए ।
पार्टी विधानमा रफ्फु भरेर १० औँ महाधिवेशनमा अध्यक्ष दोहोरिएका ओली अहिले त्यही मापदण्ड टाउको दुखाइ बनेको संकेत उनको मन्तव्यले दिएको छ । ७० वर्षे प्रावधानलाई विधान महाधिवेशनबाट ‘उम्मेदवार हुँदा ७० वर्ष ननाघेको’ भन्ने व्याख्या गरिएको थियो ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एक टेलिभिजन अन्तर्वार्तामा आफू ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने विधान व्यवस्थाको पक्षमा रहेको प्रस्ट पारेका छन् । राजेन्द्र बानियाँको यक्ष प्रश्नमा उनले भनेका छन्, ‘७० वर्षे उमेर हद र दुई कार्यकालपछि डिस्कन्टिनिउ हुनपर्छ भन्ने हामीले लामै छलफल गरेर तय गरेको विषय थियो । त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा म छु ।’
उमेर सीमा लागू हुँदा पोखरेल स्वयम् पार्टी जिम्मेवारीबाट बिदा हुनेछन् । अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष पोखरेलसँगै, उपाध्यक्षत्रय रामबहादुर थापा बादल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले समेत अवकाश पाउनेछन् । तैपनि, उनी विधान संशोधनको विपक्षमा उभिएका छन् ।
। अध्यक्ष ओलीले महत्व दिएर उमेर हद हटाउनुपर्ने लबिङ गर्नुको एउटा कारण त्यसैलाई मानिएको छ । ‘७० वर्ष उमेरका कुरा आयो । ७० वर्षे उमेर हदको विषय फेल खाइसक्यो । अहिले म ७४ चल्दै छु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ? ४ वर्ष घटाउन भएन क्यारे उमे,’ अखिल महाधिवेशनमा ओलीले भनेका थिए, ‘स्वास्थ्यले साथ दिन्छ दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हो । चीनमा दुईपटक मात्रै अध्यक्ष हुन पाउने नियम बनाएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीले ६५ लगाएको हो, अहिले ७२ पुगिसक्नु भयो, सि चीनफिङ ।’
उनले उमेरका कारणले नभइ अरु नै फ्याक्टर र आवश्यकताहरूले नेतृत्व हेरफेर हुने दाबी गरे । ओलीले भनेका थिए, ‘माधव नेपाललाई ७० पुगेर हटाएको होइन, झलनाथलाई ७० पुगेर हटाएको होइन । हटाउनुपर्ने हुँदो रहेछ । ७० पुगेर पनि हटाउन मिल्दो रहेनछ, मनमोहनजीलाई ७८ वर्षसम्म पनि हामीले हटाएनौँ । बितेर जानुभयो, हामीले हटाएनौँ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेल भने एउटा विशेष अवस्थामा उमेर हद निलम्बन गरिए पनि आउँदो विधान महाधिवेशनले निरन्तरता दिने विश्वास व्यक्त गर्छन् । उनका अनुसार, एकीकृत समाजवादीबाट फर्किन चाहने नेताहरूलाई व्यवस्थापनका लागि मात्र ७० वर्षे उमेर हद अन्तरिम कालका लागि हटाइएको हो । दुई वर्षअघि १९ जेठ २०८० मा एमालेले सचिवालय बैठकबाट ७० वर्षे उमेर हदको व्यवस्था निलम्बन गर्ने निर्णय गरेको थियो । सोही प्रावधानका कारण एमालेमा फर्किन रोकिएका मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह लगायतका नेताहरू सो निर्णयपछि पार्टीमा फर्किएका थिए । ‘त्यो फर द टाइम बिइङ अन्तरिम एरेन्जमेन्ट गरेको हो । आउने महाधिवेशनले यसलाई अनुमोदन गर्छ कि गर्दैन हेर्नु पर्नेछ’, वरिष्ठ उपाध्यक्ष पोखरेलले अन्तर्वार्तामा भनेका छन् ।













