पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू देशका विभिन्न जिल्लामा जाँदा नेकपा एमालेसँग अनुमति लिनुपर्ने कुनै आवश्यकता नरहेको बताएकी छिन् । सोमबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भण्डारीले आफू देशको पूर्वराष्ट्रपति र पहिलेदेखि नै एमालेसँग आबद्ध भएर काम गरेका कारण जिल्ला जिल्लामा गएर संवाद गर्न एमालेको अनुमति लिनुनपर्ने बताएकी हुन् ।
जनताका आकांक्षा बुझ्न र कार्यक्रमहरुमा सहभागि हुन एमालेको अनुमति मागिरहनुनपर्ने उनको भनाई छ । ‘म देशको पूर्वराष्ट्रपति हुँ, पार्टीको संगठित सदस्य भएर मात्रै होइन, धेरै पहिलेदेखि एमालेसँग आबद्ध छु। अब समाजसँग संवाद गर्न, जनताको आकांक्षा बुझ्न र देशका विभिन्न भागमा कार्यक्रमहरूमा सहभागी हुन एमालेसँग अनुमति मागिरहनु आवश्यक छैन।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘पूर्वमा म दुई वटा कार्यक्रमको सन्दर्भमा आएको हो। पालिकाका उपप्रमुख र उपाध्यक्षहरूको राष्ट्रिय स्तरको कार्यक्रम थियो, त्यसको सन्दर्भमा म आएको हुँ। अर्को चाहिँ हाइस्कुलका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका थिए। मलाई पनि रुचि थियो उहाँहरूले बोलाउनुभयो र आएँ। चिनजान ठूलै छ, समाजका अरु अरु क्षेत्रहरूमा पनि चिनजान हुन्छ। जनताको आकांक्षा बुझ्न म लागेको छु। म देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु पर्दैन।’













