काठमाडौं — नेकपा माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले सरकारको गलत गतिविधिका कारण राजावादीहरू सडकमा सक्रिय हुन पाएको बताएका छन्।
उपत्यकामा आयोजित नेवाः–तामाङ केन्द्रित जागरण अभियानको उद्घाटन समारोहमा बोल्दै सहयात्रीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पदको दुरुपयोग गरेको आरोप लगाए।

उनका अनुसार, कांग्रेस–एमाले गठबन्धन सरकार देशका नागरिकलाई बेच्ने प्रवृत्तिमा लागिरहेको र त्यसकै कारण राजावादी सोचलाई बल पुगेको हो।
सहयात्रीले वर्तमान सरकार नक्कली भुटानी शरणार्थी काण्डजस्ता ठूला भ्रष्टाचारजन्य घटनालाई ढाकछोप गर्न बनेको दाबी गर्दै न्याय प्रणालीप्रति पनि प्रश्न उठाए। उनले जिउँदो मानिसलाई इँटाभट्टामा जलाउने अपराधमा अदालतले दोषी नदेखाएको भन्दै आलोचना गरे।
उनले यस्ता प्रवृत्तिको विरुद्धमा जनस्तरबाट प्रतिवाद आवश्यक भएको बताएका छन्।













