सिन्धुपाल्चोक-उपचारका लागि आर्थिक अभाव ज्यान गुमाउने कारण बन्न पुगेको हृदयविदारक घटना सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ माझी बस्तीमा घटेको छ। ४२ वर्षीया चमेली माझीको गत बैशाख २२ गते धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
परिवारसँग आवश्यक रकम नहुँदा रु ५४,००० तिर्न नसकेर मृतकको शव ८ घण्टासम्म अस्पतालमै रोकिएको थियो। आर्थिक समस्याका कारण समयमै उपचार नपाउँदा चमेली माझीको ज्यान गएको भन्दै स्थानीयले गहिरो दुःख व्यक्त गरेका छन्।

घटनापछि स्थानीय समाजसेवी गोपाल श्रेष्ठको पहलमा चौतारा साँगाचोकगढी नगरपालिकाले रु २०,००० को क्रियाखर्च सहयोग प्रदान गरेको छ। श्रेष्ठले यस्तो पीडादायी अवस्थालाई राज्यले गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।
स्थानीय बासिन्दाहरूले आर्थिक अभावका कारण गरिब तथा पिछडिएको समुदायका नागरिकहरू समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यको माग गरेका छन्।
यो घटना सरकारले स्वास्थ्य सेवामा पहुँच र समानताको ग्यारेन्टी दिन नसकेको गम्भीर उदाहरणका रूपमा देखिएको छ।




