काठमाडौँ :भारत, उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की एक नेपाली छात्रा छात्रावासमै मृत अवस्थामा फेला परेकी छिन्।
बारा, सिम्रौनगढकी छात्रा बिहीवार साँझ क्यूसी–४ (क्विन्स क्यासल–४) छात्रावासको चौथो तलामा रहेको आफ्नै कोठामा मृत फेला परेको केआईआईटी विश्वविद्यालय स्रोतले जनाएको छ। घटनापछि प्रहरीले छात्रावास क्षेत्रलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको छ।

यसअघि पनि केआईआईटीमै अध्ययनरत गोरखाकी २० वर्षीया प्रकृति लम्साल गत फागुन ४ गते छात्रावासमै मृत फेला परेकी थिइन्। यो छोटो अवधिमा दोहोरिएको मृत्यु घटनाले विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थीहरू र अभिभावकमाझ गम्भीर चिन्ता उत्पन्न गराएको छ।
हाल मृत्युको कारण पुष्टि भइसकेको छैन भने पोस्टमार्टम रिपोर्टपछि मात्रै यथार्थ खुल्ने अधिकारीहरूले बताएका छन्।लगातार नेपाली विद्यार्थीको मृत्यु हुनु संयोग मात्र हो कि प्रणालीगत लापरबाही, भन्ने प्रश्न अहिले उठ्न थालेको छ।













