सिन्धुपाल्चोक – तेक्वान्दो खेलकुदमा उल्लेखनीय योगदान दिएका प्रशिक्षक तथा खेलाडी प्रेमबहादुर भण्डारी सम्मानित भएका छन्।
शनिबार काठमाडौंमा सम्पन्न प्रथम शेरबहादुर कप राष्ट्रिय कराते प्रतियोगिता–२०८२ को समापन समारोहमा भण्डारीलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र वाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले भण्डारीलाई तेक्वान्दोमार्फत नेपाली खेल क्षेत्रमा पु¥याएको योगदानका लागि सम्मानित गरेका हुन्।

भण्डारी सन् २०४७ सालदेखि तेक्वान्दोमा सक्रिय रहँदै आएका छन्। सिन्धुपाल्चोक बलेफी–३ निवासी उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थुप्रै स्वर्ण पदक र अन्य पुरस्कार जितिसकेका अनुभवी खेलाडी हुन्।
भण्डारी अहिले नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष र काठमाडौंस्थित गोठाटार तेक्वान्दो डोजाङका संस्थापकसमेत हुन्। साथै, उनी एशियाली तेक्वान्दो महासंघको युथ कमिटी सदस्यको रूपमा पनि जिम्मेवारी सम्हालिरहेका छन्।
उनको यो सम्मानलाई नेपाली तेक्वान्दो क्षेत्रको प्रेरणादायक उपलब्धि र नयाँ पुस्ताका खेलाडीहरूका लागि प्रेरणाको स्रोतको रूपमा हेरिएको छ।













