काठमाडौं – कुकिवन कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सिन्धुपाल्चोकका प्रेम भण्डारीले पावर ब्रेकिङ्गतर्फ तेस्रो स्थान हासिल गर्दै जिल्लाको गौरव बढाएका छन्। देशैभरिका प्रतिस्पर्धीबीच उत्कृष्ट प्रदर्शन गर्दै उनले सिन्धुपाल्चोकको प्रतिनिधित्व गरेका हुन्।
बलेफी गाउँपालिका–३ मा जन्मिएका भण्डारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी मात्र नभई एक सक्षम प्रशिक्षकसमेत हुन्। २०४७ सालदेखि तेक्वान्दो खेलमा सक्रिय रहँदै, २०५४ सालमा यो खेल जिल्लामा भित्र्याएर दर्जनौं खेलाडी उत्पादन गरेका छन्।

उनको योगदानले जिल्लाका थुप्रै खेलाडीहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल भएका छन्।
हाल काठमाडौंको काडाघारीस्थित बिरेन्द्रचोकमा आफ्नै लगानीमा स्थापना गरेको ‘गोठाटार तेक्वान्दो डोजाङ’मार्फत प्रशिक्षण दिइरहेका भण्डारी तेक्वान्दोको माध्यमबाट समाज परिवर्तन र युवा सशक्तीकरणमा सक्रिय छन्।
उनको निडरता, स्वाभिमान र खेलप्रतिको समर्पण भाव आजका युवाका लागि प्रेरणाको स्रोत बनेको छ।













