काठमाडौं — नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आगामी जेठ २–४ गते काठमाडौंमा आयोजना हुने सगरमाथा संवाद सरकार निकट व्यक्तिहरूमा सीमित राखिएको भन्दै आपत्ति जनाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा भेट गर्दै सापकोटाले जलवायु परिवर्तनजस्तो वैश्विक चुनौतीको सामना गर्न सबै पक्षको सहभागिता अपरिहार्य भएको बताए।

उनले संवादलाई सत्तापक्षको कार्यक्रममा सीमित नराखी सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, विज्ञ र जनताको साझा मञ्च बनाइनुपर्नेमा जोड दिए।
सापकोटाले संवादको अवधारणा, कार्यपत्र र दृष्टिकोणले राष्ट्रिय एकता र विश्वसनीयता झल्काउनुपर्ने सुझाव दिँदै समावेशी संरचना र सहभागितामूलक प्रक्रिया अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
सरकारले जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा सगरमाथा संवाद आयोजना गर्ने योजना बनाएको छ।













