काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संसद भवन, नयाँबानेश्वरमा बस्ने भएको छ। बैठकको कार्यसूचीअनुसार ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।
त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंह ले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नेछन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडी ले ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै उक्त विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्नेछन्।

यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया ले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची पनि आजको बैठकमा समावेश गरिएको छ।













