काठमाडौँमा गणतन्त्रवादी र राजावादीको छुट्टाछुट्टै प्रदर्शन, सुरक्षा व्यवस्था कडा

काठमाडौँ । आज काठमाडौँमा गणतन्त्र समर्थक र राजतन्त्र समर्थक समूहहरूले छुट्टाछुट्टै प्रदर्शन गर्ने भएका छन्।

गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले काठमाडौँका विभिन्न भित्री सडकबाट जुलुस निकाल्दै भृकुटीमण्डपमा सभा आयोजना गर्ने जनाएको छ। मोर्चामा रहेका चार दलमध्ये माओवादी केन्द्रले माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र सोह्रखुट्टेबाट जुलुस निकाल्नेछ भने, एकीकृत समाजवादीले शान्तिबाटिका र मैतीदेवीबाट प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। त्यस्तै, विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट जुलुस निकाल्ने बताइएको छ।

उता, राजतन्त्र पुनःस्थापनाको माग गर्दै राजावादी समूहले तिनकुनेमा प्रदर्शन गर्ने भएका छन्। राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले प्रदर्शनको नेतृत्व लिने जनाएको छ। समितिले दुर्गा प्रसाईलाई आन्दोलनको ‘जनकमाण्डर’ घोषणा गर्दै सबैलाई सहभागी हुन आह्वान गरेको छ। यस प्रदर्शनमा राप्रपा, राप्रपा नेपाल लगायतका राजावादी दलहरूको पनि सक्रिय सहभागिता रहनेछ।

संभावित झडप रोक्न प्रशासनले राजावादी समूहलाई रिङरोड क्षेत्रमा प्रदर्शन गर्दै तिनकुनेमा सभाको अनुमति दिएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले थप दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर