प्रधानमन्त्रीले तथ्य र प्रमाणसहित जवाफ नदिए संसद चल्दैन : सांसद माधव सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा स्पष्ट जवाफ नदिएसम्म संसद सञ्चालन हुन नदिने चेतावनी दिएका छन्। बिहीबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारको गैरजवाफदेही र अराजक शैलीप्रति गम्भीर आपत्ति जनाएका हुन्।

सांसद सापकोटाले लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै भने, “प्रधानमन्त्री संसदले बनाएको हो, त्यसैले उनी त्यसैप्रति जिम्मेवार हुनुपर्छ। तर, वर्तमान सरकार निरंकुशतातर्फ उन्मुख छ, जुन कुनै हालतमा स्वीकार्य छैन।”

उनका अनुसार नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई मन्त्रिपरिषद्को निर्णयबाट पदमुक्त गरिएको विषयमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीबाटै प्रष्टिकरण माग गरेका छन्। “यो कुनै साधारण निर्णय होइन, बदनियतपूर्ण राजनीतिक हस्तक्षेप हो,” उनले आरोप लगाए।

सरकारले संसदलाई बेवास्ता गर्ने शैलीले लोकतन्त्रको अपमान गरिरहेको टिप्पणी गर्दै सापकोटाले भने, “यदि प्रधानमन्त्रीमा नैतिक जिम्मेवारीबोध छैन भने त्यो सरकार जनताको होइन, विचौलियाहरूको सरकार हो।”

उनले सरकार स्वार्थ समूहद्वारा सञ्चालित भएको दाबी गर्दै भने, “सांसदहरूले संसदमा प्रश्न उठाउँछन्, तर सरकार मौन बस्छ। यस्तो स्थितिमा संसदको अस्तित्व नै संकटमा पर्छ।”

सापकोटाले प्रधानमन्त्रीले ठोस प्रमाणसहित चित्तबुझ्दो जवाफ नदिएसम्म प्रतिपक्षी दलहरूले संसद अवरुद्ध गर्ने जानकारी दिए। “हामी यथार्थपरक उत्तर नआएसम्म संसद सञ्चालन हुन दिँदैनौं,” उनले स्पष्ट पारे।

प्रतिक्रिया
सम्बन्धित खवर