काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि असन्तुष्टि जनाएका छन्। बिहान सबेरै सामाजिक सञ्जालमा लेखेर उनले यो कदमको स्वामित्व कांग्रेसले लिनै नहुने बताएका छन्।
‘कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न’, उनले लेखेका छन्, ’यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि!’

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणका कार्यकारी प्रमुख घिसिङलाई हटाउने निर्णय गरेको थियो।
२०७३ भदौ २९ गते पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् निर्णयबाट पहिलोपल्ट घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो। दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्यको व्यवस्थापन गरेका थिए।
२०७५ वैशाखदेखि देश लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो। दाहाल नेतृत्वको सरकारले दोस्रो पटक कुलमानलाई २०७८ साल साउन २६ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।













