काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिएको भन्दै त्यसबारे सरकारको जवाफ मागेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले अहिलेको २१औं शताब्दीमा, यो आधुनिक युगमा सांसद किनबेचको विषय हुनु लाजमर्दो भएको बताएका हुन्।
उनले भने,‘सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिराखेका छौं। सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश पारित गराउनको लागि सरकारले यो काम गरिरहेको भनेर आरोप लगाईराखेका छन्। अहिलेको २१औं शताब्दीमा, यो आधुनिक युगमा सांसद किनबेचको विषय लाजमर्दो छ। सिंगो संसद नै अपमानित हुने यो विषयमा सभामुखज्यू गम्भीर हुन जरुरी छ।

यो विषय यसरी संसदको नै अपमान हुनेगरि प्रसारित हुँदा सरकारले पनि जवाफ दिन जररी छ। होईन भने एउटा जिम्मेवार सांसदले यसरी आरोप लगाउन मिल्छ कि मिल्दैन् ? मिल्छ भने यसमा कानून लाग्छ कि लाग्दैन भनेर म विशेष आग्रह गर्न चाहन्छु।’ केही दिनअघि उपेन्द्र यादवले सरकार अध्यादेश पारित गराउनको लागि सांसद किनबेचमा लागेको भनेर आरोप लगाएका थिए । त्यही विषयमा आज साहले संसद्मा कुरा उठाएका हुन्।













