भीम रावलले गरे वैकल्पिक राजनीतिक शक्ति निर्माणकाे घाेषणा

काठमाडौं: डा. भीमबहादुर रावलले नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा गरेका छन् । नेकपा एमालेबाट निलम्बित रावलले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् यस्तो घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने,` देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम र नीति तय गर्दै, देश र प्रवासमा अभियान सञ्चालन गर्दै, देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्ने छन् । हाम्रा यी पाइला र प्रयासहरू अगाडि बढ्ने सन्दर्भमा विभिन्न संगठित रुपमा रहनुभएकासँग सहकार्य हुन सक्छ ।’
उनले आफू एमाले अध्यक्ष केपी ओलीकाे काेपभाजनमा परेकाे पनि बताए ।

रावलले वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान सञ्चालन गर्ने पनि बताएका छन् ।‘भ्रष्टाचार कुशासन, स्वेच्छाचारी क्रियाकलापविरुद्ध जनतालाई सजग र क्रियाशील बनाउनुपर्छ । राजनीति, दल, विचार र संगठन देश र जनताको सेवा एवम् हितको लागि हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ’, उनले भने, ‘मातृभूमि अभियान सञ्चालन गरि देश र जनताको हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति, समुदायलाई एकतावद्ध गर्नुपर्छ । उनले पत्रकार सम्मेलनका क्रममा देश र जनताले भोगिरहेका समस्या समाधानका चुनौतीको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउने बताए ।

रावलले अब बनाउने पार्टी कम्युनिस्ट पार्टी नहुने गरि बनाउने तयारीमा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर