अदालतमा रविको इन्कारी बयान– ‘सहकारीको एक रुपैयाँ खाएको छैन, जीबी नै संलग्न थिए’

पोखरा । गत सोमबारदेखि जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा बयान लिने क्रम जारी छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित रामबहादुर खनाल, कृष्णप्रसाद गुरुङ, लिला पछाई र मंगलबारमात्र कास्की प्रहरीले पक्राउ गरेपछि हिरासतमा रहेकी गण्डकीकी पूर्वसांसद मिना गुरुङको बयान लिने क्रम जारी छ ।

सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगी मुद्दामा गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको थियो । सोही पत्रको आधारमा प्रतिवादीहरूमाथि सोमबारदेखि अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बयानले निरन्तरता पाएको छ ।

बुधबारको सार्वजनिक बिदापछि बिहिबार पछाईको बयान सकिएपछि लामिछानेको बयान सुरु भएको छ । उनले आफू कुनै पनि कसुरमा संलग्न नभएको इन्कारी बयान दिएका छन् ।

न्यायाधीश राईले लामिछानेलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा दायर उनीविरुद्धको कसुरमा केन्द्रित रहेर प्रश्न गरे ।

तर, लामिछाने भने पूर्ववत् जवाफमा नै अडिग रहे । एक अधिवक्ताका अनुसार, लामिछानेले सहकारीमा आफ्नो संलग्नता नरहेको र त्यसको जिम्मेवारी जीबी राई नै रहेको बताएका थिए ।

गैरकानूनी ढंगबाट ऋण लिइएको जानकारी आफूलाई नभएको उहाँले बताउनुभयो । । रविले सहकारीको एक रुपैयाँ रकम पनि आफू नखाएको दोहोर्‍याएउनुभएको थियो । संसदीय छानबिन समितिको प्रतिवेदनमा संलग्नता नरहेको पुष्टि भएको उहाँले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीनवटा कसुरमा मुद्दा दायर भएको छ । लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

सम्पत्ति शुद्धीकरणको कसुरमा झन्डै २८ करोड बिगो कायम गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर