स्थानीय तहमा रास्वपाको पहिलो जित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्ठ्यारो परिस्थितिमा पनि काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष जितेको छ।

रास्वापाका सभापति रवि लामिछाने गत कात्तिक २ देखि प्रहरीको हिरासतमा छन्। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिले लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। चितवन लगायत ठाउँबाट पनि पक्राउ पुर्जी जारी भएकाले उनको हिरासत बसाइ अझै लम्बिने देखिन्छ।

स्थानीय तह उपनिर्वाचनअनन्तर्गत जारी मतगणनामा देशैभरि अरू कुनै स्थानमा जित हात नपारे पनि काठमाडौं–१६ को मत परिणामले रास्वपालाई राहत दिएको छ।

यसपालि रास्वापाले पहिलो पटक स्थानीय तह चुनावमा भाग लिएको थियो। सहभागी भएको पहिलो चुनावमै नेकपा (एमाले) र नेपाली कांग्रेस दुवैको प्रभाव क्षेत्र मानिएको काठमाडौं–१६ मा रास्वपाले जित्यो।

रास्वपाकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भइन्। निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत पाए। यसअघि चुनाव जितेको कांग्रेस तेस्रो भयो। कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरे।

प्रतिक्रिया
सम्बन्धित खवर