जनचाहना पूरा गर्ने गरी पूर्वाधार विकासका काम गरौं: उपप्रधानमन्त्री सिंह

उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्ने गरि काम गर्न निर्देशन दिनुभएको छ ।

आज (बुधबार) स्थानीय पूर्वाधार विभाग ललितपुरमा विभागकातर्फबाट हाल भइरहेका काम र आगामी योजनाको ब्रिफिङपछि उपप्रधानमन्त्री सिंहले यस्तो निर्देशन दिनुभएको हो ।

हाल विभागले झोलुंगे पुल, ग्रामीण सडक, ग्रामिण सडक पुल, पालिकाहरुको प्रशासकीय भवन निर्माण, साना सिञ्चाई कार्यक्रम सञ्चालन गरिररहेको छ । जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्न विभागको भूमिका महत्वपूर्ण रहेको भन्दै उपप्रधानमन्त्री सिंहले नागरिकले अनुभूति गर्ने गरि काम गर्न निर्देशन दिँदै त्यसमा केही समस्या परे मन्त्रालयले आवश्यक समन्वय गर्ने बताउनुभयो । ‘शहरी विकास मन्त्रालय अन्तर्गत रहेको यो स्थानीय पूर्वाधार विभागको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका छ,’ उहाँले भन्नुभयो, ‘ झोलुंगे पुल, ग्रामिण सडक, प्रशासकीय भवन निर्माणजस्ता पूर्वाधार विकासको जिम्मेवारी तपाईहरुको काँधमा छ । प्रभावकारी रुपमा काम सुचारु गर्नुपर्छ ।’

हालसम्म विभागले ३ सय ६४ वटा पालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गरिसकेको छ भने १ सय ४९ वटा भवन निर्माणाधिन अवस्थामा छ । आर्थीक वर्ष ०८१/८२ मा विभागले ६८ स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने योजना राखेको छ भने ३ सय झोलुंगे पुल, ४० वटा सडक पुल र १ सय किलोमिटर पक्की सडक निर्माण सम्पन्न र ७० किलोमिटर सडक निर्माण कार्य शुरु गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर