सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ भाेताङमा राजनीतिक तरंग सिर्जना गर्दै नेकपा एमालेका पूर्व वडा कमिटी अध्यक्षसहित एक दर्जन बढि व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) भाेताङका अध्यक्षका रूपमा दुई कार्यकाल जिम्मेवारी सम्हालिसकेका सिनेन दोर्जे तामाङले मंगलबार एमाले परित्याग गर्दै कांग्रेस रोजेका हुन्। लामो समय पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेका तामाङको कांग्रेस प्रवेशलाई स्थानीय राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।
उनिसँगै एमाले परित्याग गरी नयाँ तामाङ, साङ्गे पाख्रिन, अमित वाइबा र ठुला तामाङ पनि कांग्रेस प्रवेश गरेका छन्। त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी सोनम ग्याल्बो तामाङ तथा कर्मा स्याङ्बो कांग्रेसमा आबद्ध भएका छन्। स्वतन्त्र पार्टी परित्याग गर्दै सागर स्याङ्बो समेत कांग्रेसमा प्रवेश गरेका छन्। त्यस्तै टासि तामाङ, दावा गाेले, करण वाईबा र सिर्सानी तामाङ पनि कांग्रेस प्रवेश गरेका छन । नेपाली कम्युनिष्ट पार्टी परित्याग गरि पेम्बा सिङ्गी तामाङ र एमाले परित्याग गरि बिजय तामाङ कांग्रेसमा प्रवेश गरे ।

नवप्रवेशीहरूलाई कांग्रेस केन्द्रीय सदस्य शिव सुनार तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बंशलाल तामाङले एक कार्यक्रमका बीच स्वागत गरेका थिए। स्वागत गर्दै नेताहरूले पार्टीमा नयाँ ऊर्जा थपिएको उल्लेख गर्दै संगठन सुदृढीकरण र विकासका एजेन्डालाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। स्थानीय तहमा पछिल्लो समय विभिन्न दलबाट कांग्रेस प्रवेश गर्ने क्रम बढ्दै गएको देखिएको छ, जसलाई आगामी निर्वाचनको सन्दर्भमा महत्वपूर्ण रूपमा हेरिएको छ।













