धादिङ । अन्तर वडा स्तरीय प्रतिस्पर्धात्मक खेलका साथ प्रथम ज्वालामुखी ब्याडमिन्टन कप–२०८२ भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको मनमैजुस्थित दिपक ब्याडमिन्टन एकेडेमीमा शनिबार आयोजित प्रतियोगिताले ज्वालामुखी गाउँपालिकाभित्र खेलकुदप्रतिको उत्साह र एकतालाई थप मजबुत बनाएको छ।
उत्साहजनक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ज्वालामुखी–४ का सन्तोष भट्ट र रमेश थापा मगर ले उपाधि हात पारे। त्यसैगरी ज्वालामुखी–५ का उमेश अधिकारी र राजेन्द्र गुरुङ ले द्वितीय स्थान हासिल गर्दा, तृतीय स्थान ज्वालामुखी–५ कै सञ्जय भण्डारी र निर ब. आले मगर ले प्राप्त गरे। प्रतियोगितालाई संयमित, अनुशासित र व्यवस्थित रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्यक्रम सञ्चालक किरण छतकुली, साथै ज्योति तामाङ र निराजन भण्डारी प्रति आयोजक तथा सहभागी सबैले विशेष धन्यवाद व्यक्त गरेका छन्। यसै अवसरमा ज्वालामूखी गाउँपालिका भित्रका विभिन्न राष्ट्रिय खेलमार्फत गाउँपालिकाको नाम चिनाएका खेलाडीहरू नगदसहित सम्मानित भएका छन्।

सम्मानित खेलाडीहरूमा भलिबलका सरन सामरी क्षेत्री, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, बक्सिङका आशिष दुवाडी र लालु आले मगर, उसुकी जुनी राई, करातेका राजाराम मुल तथा कुस्तीकी कोपिला थापा मगर रहेका छन्। लामो समयदेखि ज्वालामूखी गाउँपालिकामा खेलकुद प्रशिक्षणमा सक्रिय प्रशिक्षक गौतम श्रेष्ठ लाई समेत विशेष सम्मान गरिएको छ। कार्यक्रममा ज्वालामूखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनै, ज्वालामूखी सेवा समाज, ज्वालामूखी–६ धादिङका पदाधिकारीहरू तथा विभिन्न वडाका वडाध्यक्षहरूको उपस्थिति रहेको थियो।
आयोजक ज्वालामूखी सेवा समाजले राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरी गाउँपालिकाको गौरव बढाउने खेलाडीहरूलाई सम्मान गर्न पाउनु गर्वको विषय भएको उल्लेख गर्दै आगामी दिनमा पनि स्थानीय खेलकुद प्रवर्द्धनमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ। खेलमार्फत युवा ऊर्जा, एकता र सकारात्मक सन्देश प्रवाह गरेको यस प्रतियोगिताले ज्वालामूखी गाउँपालिकामा खेलकुद संस्कृतिको विकासमा नयाँ गति थपेको आयोजकको विश्वास छ।













