सिन्धुपाल्चोक । नेपाली कांग्रेसभित्र यतिबेला रुपान्तरण र परिवर्तनको तीव्र लहर चलिरहँदा सिन्धुपाल्चोक कांग्रेसले एउटा ऐतिहासिक र साहसिक निर्णय लिएको छ। संस्थापन पक्षबाट जिल्ला सभापति निर्वाचित भएका जंगबहादुर लामाले लामो समय देखि पार्टीको आन्तरिक जीवनमा यथास्थितिवादको अन्त्य र समयको मागलाई आत्मसाथ गर्दै संस्थापन पक्षसँग विद्रोह गरेर परिवर्तनको पक्षमा आफूलाई उभ्याएका थिए। उनको यो ‘जंगी’ निर्णयले नेपाली कांग्रेस सिन्धुपाल्चोकको राजनीतिमा नयाँ तरंग मात्र पैदा गरेको छैन, बरु इतिहासको जगमा वर्तमानलाई सुधार्दै भविष्य सुरक्षित गर्ने एउटा बलियो आधार समेत खडा गरेको छ।
विशेष महाधिवेशनको पक्षमा कांग्रेसभित्र सभापति लामाको यो कदमले सिन्धुपाल्चोकमा ठूलो शक्ति सन्तुलन फेरबदल गरिदिएको छ। उनले जिल्लाका बहुमत महाधिवेशन प्रतिनिधिहरूलाई परिवर्तनको एजेन्डामा गोलबद्ध गर्दै हस्ताक्षर गराउन सफल भएका छन्। यसले जिल्लामा अब संस्थापन पक्षभन्दा परिवर्तनकारी पक्षको स्पष्ट र भारी बाहुल्यता रहेको प्रमाणित गरेको छ। व्यक्तिगत पद र सत्ताको लोभभन्दा पार्टीको वृहत्तर हित र कार्यकर्ताको भावनालाई सर्वोपरी ठान्ने लामाको यो अडानले निष्ठावान कार्यकर्तामा नयाँ ऊर्जा र आत्मविश्वास भरेको छ। परिवर्तनको यो महाअभियानमा साथ दिन सिन्धुपाल्चोकका कुनाकाप्चाबाट हजारौँको संख्यामा नेता तथा कार्यकर्ताहरू राजधानी काठमाडौँ ओर्लिएका छन्।

राजधानीका सडक र पार्टीको कार्यक्रम स्थलमा देखिएको सिन्धुपाल्चोकका कार्यकर्ताहरूको बाक्लो उपस्थिति र अझै आउने क्रम जारी रहेको लर्कोले पार्टीभित्रको यो विद्रोह केवल नेताहरूको मात्र नभई आम कार्यकर्ताको सामूहिक चाहना भएको पुष्टि गर्दछ। समयको पदचापलाई बुझेर इतिहास रच्न अघि बढेको सिन्धुपाल्चोक कांग्रेसको यो यात्राले समग्र पार्टीलाई नै नयाँ दिशा दिने निश्चित देखिएको छ।













