मेलम्ची- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बर्ड फ्लु रोगबारे जनचेतना अभिवृद्धि तथा सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा शुक्रबार मेलम्चीस्थित पशु सेवा शाखाको बैठक हलमा आयोजित कार्यक्रममा बर्ड फ्लु रोगको अवस्था, संक्रमणका कारण, रोकथामका उपाय तथा अपनाउनुपर्ने सावधानीबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै पशु सेवा शाखा प्रमुख उपेन्द्र पण्डितले बर्ड फ्लु रोगबाट बच्न जैविक सुरक्षा उपायहरू अपनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले मासु तथा अण्डा राम्रोसँग पकाएर सेवन गरेमा बर्ड फ्लु रोग नसर्ने स्पष्ट पार्दै अनावश्यक हल्ला र भ्रममा नपर्न आग्रह गर्नुभयो। साथै, पशुपक्षीमा अस्वाभाविक मृत्यु वा रोगका लक्षण देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउदै कुखुराको खोर सफा गर्दा माक्स, बुट,पञ्जा लगाउन समेत अनुरोध गर्नुभयो। कार्यक्रममा सहभागी किसान तथा व्यवसायीहरूलाई रोग नियन्त्रण र सरसफाइ व्यवस्थापनमा सहजता पुर्याउने उद्देश्यले चुना वितरण गरिएको थियो।

कार्यक्रममा मेलम्ची नगरपालिकाका १३ वटै वडाका कुखुरा तथा पशुपन्छी व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले बर्ड फ्लु रोगको पहिचान, नियन्त्रण र रोकथामका उपायबारे जानकारी लिँदै आफ्ना जिज्ञासा तथा सुझावसमेत राखेका थिए। नगरपालिकाले पशुपालन क्षेत्रको संरक्षण, किसानको हित तथा जनस्वास्थ्य सुरक्षाका लागि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।








