सिन्धुपाल्चोक जिल्लाको पूर्वाधार विकासलाई तीव्र गति दिन कृष्णकुमार तामाङ को नेतृत्वदायी भूमिकामा बागमती प्रदेश सरकारबाट विभिन्न रणनीतिक सडक योजनाका लागि स्रोत सुनिश्चित भई पूर्वाधार विकास कार्यालय चौताराबाट ठेक्का आह्वान गरिएको छ ।
जिल्लाका ग्रामीण तथा दुर्गम बस्तीलाई सडक सञ्जालसँग जोड्ने, पर्यटन तथा कृषि उत्पादनको बजारीकरण सहज बनाउने र स्थानीय नागरिकको आवतजावतलाई सुरक्षित तथा सहज बनाउने उद्देश्यसहित करिब १५ करोड रुपैयाँभन्दा बढी लागतका ७ वटा महत्वपूर्ण सडक योजनामा काम अघि बढाइएको हो ।

सडक योजनाहरूमा बाहुनेपाटी–भोताङ–पाँचपोखरी क्षेत्रदेखि हेलम्बु, मेलम्ची र चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न सडक खण्डहरू समेटिएका छन् । योजनाअन्तर्गत सडक स्तरोन्नति, कालोपत्रे तयारी, मोटरबाटो विस्तार तथा पहुँच मार्ग सुधारका कार्य हुने जनाइएको छ ।
ठेक्का आह्वान भएका सडक योजनाहरू यसप्रकार रहेका छन् :
बाहुनेपाटी–प्युघर–नवलपुर–छहरे–ओख्रेनी–गुन्सा–भोताङ–छिम्ती–पाँचपोखरी सडक अन्तर्गत बाहुनेपाटी–प्युघर–एसेलुखर्क खण्ड — १ करोड ८९ लाख रुपैयाँ
ग्याल्थुम–देविस्थान–पिप्से–चित्रे–गोल्फुभन्ज्याङ सडक स्तरोन्नति, हेलम्बु गाउँपालिका–४/५ — १ करोड ८९ लाख रुपैयाँ
मेलम्ची–फट्टे–दुवाचौर–ककनी–शेर्माथाङ–छिमिघ्याङ–तार्केघ्याङ सडक अन्तर्गत दुवाचौर–ककनी खण्ड — ३ करोड ७८ लाख रुपैयाँ
ज्यामुरेडाँडा–क्युरेनी–ककनी मोटरबाटो, मेलम्ची–८ — १ करोड ८९ लाख रुपैयाँ
छापभञ्ज्याङ–ठाटीपोखरी–ढाडखोला–फट्केश्वर सडक अन्तर्गत पधेराचौर–फट्केश्वर खण्ड, मेलम्ची–१३ — ५ करोड १६ लाख रुपैयाँ
नर्सरी–विर्ताथोक–स्वाराथोक सडक स्तरोन्नति, चौतारा साँगाचोकगढी नगरपालिका–११ — ४० लाख रुपैयाँ
मेलम्ची–कटुन्जे–धुसेनी–धौले सडक, मेलम्ची–११ — ४० लाख रुपैयाँ
यी योजनाहरू कार्यान्वयनमा आएपछि सिन्धुपाल्चोकका ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढ्ने, कृषि तथा पर्यटन क्षेत्रले गति लिने र स्थानीय नागरिकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ ।
सिन्धुपाल्चोकको समग्र पूर्वाधार विकासका लागि निरन्तर पहल गर्दै आएका मन्त्री तामाङको सक्रियताप्रति स्थानीयवासीले धन्यवाद व्यक्त गरेका छन् । साथै, योजना सफल कार्यान्वयनका लागि सहयोग पुर्याउने सम्पूर्ण निकाय तथा जनप्रतिनिधिप्रति हार्दिक आभार व्यक्त गर्दै जिल्लावासीलाई बधाईसमेत दिइएको छ ।








