सिन्धुपाल्चोक –महिला सशक्तिकरण तथा बालबालिका उत्थान समाजले चौतारा अस्पतालमा देखिएका गम्भीर समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ। समाजकी केन्द्रीय अध्यक्ष सरोजा श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको पत्रमार्फत अस्पतालमा विशेषज्ञ चिकित्सक तथा अत्यावश्यक उपकरणको अभावबारे चिन्ता व्यक्त गरिएको हो।
पत्रमा सिन्धुपाल्चोकको सदरमुकाममा रहेको चौतारा अस्पताल यस क्षेत्रकै प्रमुख तथा एकमात्र सरकारी स्वास्थ्य संस्था भएको उल्लेख गरिएको छ। दैनिक रूपमा ठूलो संख्यामा बिरामीहरू सेवा लिन आउने यस अस्पतालमा विशेषगरी महिला र बालबालिकाको संख्या उल्लेख्य भए पनि आवश्यक विशेषज्ञको अभावले गुणस्तरीय सेवा प्रवाहमा समस्या देखिएको जनाइएको छ।

अस्पतालमा स्त्रीरोग विशेषज्ञ र बालरोग विशेषज्ञ नहुँदा बिरामीहरूले समयमै उपचार पाउन नसकेको तथा जटिल अवस्थामा अन्य जिल्ला वा काठमाडौं जानुपर्ने बाध्यता रहेको उल्लेख छ। यसले विशेषगरी दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकहरूलाई थप आर्थिक भार, समयको क्षति र स्वास्थ्य जोखिम बढाएको बताइएको छ।
त्यस्तै, अस्पतालमा ल्याप्रोस्कोपिक सेट र एन्डोस्कोपिक सेटजस्ता अत्यावश्यक उपकरणको अभावका कारण सेवा प्रवाह अझ प्रभावित भएको जनाइएको छ।
समाजले तत्काल एक जना स्त्रीरोग विशेषज्ञ, एक जना बालरोग विशेषज्ञ तथा आवश्यक उपकरणहरूको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। आवश्यक जनशक्ति र पूर्वाधार उपलब्ध गराइएमा यस क्षेत्रका महिला तथा बालबालिकाले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास समाजले व्यक्त गरेको छ।
समाजले आफ्नो मागप्रति गम्भीर ध्यान दिँदै यथाशीघ्र पहल गर्न सरकारसँग आग्रह गरेको छ।













