सिन्धुपाल्चोक – चौतारास्थित चौतारा अस्पतालको स्थलगत अनुगमनपछि महिला सशक्तिकरण तथा बालबालिका उत्थान समाजकी केन्द्रीय अध्यक्ष सरोज श्रेष्ठले अस्पतालमा देखिएका समस्या अब लुकाएर राख्न नसकिने भन्दै सम्बन्धित निकायलाई स्पष्ट सन्देश दिएकी छन्।
उनले अस्पतालको सेवा प्रवाहदेखि भौतिक पूर्वाधार, जनशक्ति अभाव र उपकरण व्यवस्थापनसम्म गम्भीर कमजोरी रहेको औंल्याउँदै यस्ता समस्याले सर्वसाधारण, विशेषगरी महिला तथा बालबालिकालाई प्रत्यक्ष असर पारेको बताइन्। “यी विषय अब तुरुन्त सम्बोधन हुनुपर्छ,” उनको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।

श्रेष्ठले महिला तथा बालबालिकामैत्री सेवा विस्तारको पहल सकारात्मक भए पनि व्यवहारमा अझै धेरै सुधार आवश्यक रहेको उल्लेख गरिन्। उनले सुरक्षित, सहज र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न राज्य, स्थानीय तह र अस्पताल व्यवस्थापनबीच प्रभावकारी सहकार्य अनिवार्य रहेको धारणा राखिन्।
अनुगमनका क्रममा उनले अस्पतालमा भइरहेको सुधारका प्रयासको प्रशंसा गर्दै ती प्रयासलाई दिगो र परिणाममुखी बनाउन निरन्तर दबाब र पहल आवश्यक हुने बताइन्। साथै, यस अभियानमा सक्रिय भूमिका खेलेका मेडिकल सुपरिटेन्डेन्ट डा. रूद्रमणि भण्डारीप्रति आभार व्यक्त गरिन्।













