काठमाडौँ – इन्द्रावती गाउँपालिका–१० का युवा सुरेन्द्र पौडेल नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस इन्द्रावती–१० काठमाडौँ सम्पर्क समितिको आयोजनामा “इन्द्रावतीबाट काठमाडौँ आई बसोबास गर्ने बुद्धिजीवी, शिक्षक, व्यवसायी, विद्यार्थी तथा अग्रज व्यक्तित्वहरू”सँग सम्पन्न अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा पौडेल औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन् ।

नवप्रवेशी पौडेललाई कांग्रेस केन्द्रीय सदस्य शिव बहादुर सुनार र प्रतिनिधिसभा सदस्य, सिन्धुपाल्चोक क्षेत्र नं. २ का उम्मेदवार बंशलाल तामाङले पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै नेताहरूले लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध युवाहरूको साथ र सहभागिताले संगठन थप सशक्त हुने विश्वास व्यक्त गरे । उनीहरूले इन्द्रावती र सिन्धुपाल्चोकको समग्र विकासका लागि कांग्रेसको अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका थिए ।
काठमाडौँमा बसोबास गर्दै आएका इन्द्रावतीवासीबीच आपसी समन्वय, अनुभव आदान–प्रदान र राजनीतिक संवाद सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।













