काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्यांकनमा बलेफी गाउँपालिका लगातार दोस्रो वर्ष पनि सिन्धुपाल्चोक जिल्लामै प्रथम बनेको छ। यस वर्ष ६४.४२ अंक प्राप्त गर्दै बलेफीले आफ्नो अग्रता कायम राखेको हो।
सिन्धुपाल्चोक जिल्लामा तीन नगरपालिका र नौ गाउँपालिका गरी १२ स्थानीय तह रहेका छन्। तीमध्ये बलेफीले उत्कृष्ट नतिजा हासिल गर्दै विगत वर्षको उपलब्धिलाई निरन्तरता दिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ले प्रत्येक वर्ष १७ वटा सूचकका आधारमा स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकन गरी नतिजा सार्वजनिक गर्ने गर्दछ। यही मूल्यांकनलाई आधार मानेर केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वित्तीय समानीकरण अनुदान विनियोजन गर्ने व्यवस्था छ।

मूल्यांकनका प्रमुख आधारहरू
आयोगले समयमै बजेट प्रस्तुत गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, राजस्व बाँटफाँटको रकम प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको, सार्वजनिक खर्चको पारदर्शिता कायम गरे/नगरेको लगायत १७ सूचकमा अंक प्रदान गर्दछ। साथै स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासका क्षेत्रमा भएको प्रगतिलाई पनि विशेष प्राथमिकता दिइन्छ।
गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ ले जनप्रतिनिधि, कर्मचारी र नागरिकको सामूहिक प्रयासका कारण लगातार दोस्रो वर्ष उत्कृष्ट बन्न सफल भएको बताए। उनले आगामी दिनमा सेवा प्रवाहलाई अझ परिष्कृत र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यसम्पादनमा आधारित यो नतिजाले स्थानीय तहहरूबीच सुशासन, पारदर्शिता र विकासका क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा अभिवृद्धि गर्ने विश्वास लिइएको छ।













