काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे र बलेफी क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेसलाई ठूलो धक्का लागेको छ। पुराना दलहरूको ‘गफ धेरै, काम थोरै’ शैलीबाट असन्तुष्ट एक दर्जन जुझारु युवाहरूले पार्टी परित्याग गर्दै तारा चुनाव चिन्ह रहेको नेपाली कम्युनिष्ट पार्टी रोजेका हुन्।
देश निर्माणको स्पष्ट भिजन र युवाको भावना बुझ्ने शक्ति नेपाली कम्युनिष्ट पार्टीमै रहेको निष्कर्षसहित उनीहरूले नयाँ राजनीतिक यात्रा सुरु गरेका बताएका छन्।

पार्टी प्रवेश गर्नेहरूमा बाह्रविसे–६ धुम्थाङका लङ्क विर तामाङ, प्रेम तामाङ र मंगल तामाङ रहेका छन्। यस्तै बाह्रविसे–३ बाट विवेक घतानी र विशाल घतानी तथा बाह्रविसे–७ बाट रविन घतानी, राज वि.क., सुरेश तामाङ, डिम पासाङ तामाङ र जिवन घतानीले पनि ताराको लालझण्डा समातेका छन्। त्यसैगरी बलेफी–८ बाट विकास पोखरेल र सुदिप पराजुली नेकपामा गोलबन्द भएका छन्।
उनीहरूलाई नेकपा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार माधव सापकोटा सुबोध ले खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए। स्वागत कार्यक्रममा सापकोटाले अहिलेको समय युवाहरूको समय भएको उल्लेख गर्दै युवाहरूको यो निर्णयले सिन्धुपाल्चोकको विकास यात्रामा नयाँ ऊर्जा थपेको बताए।
पार्टी प्रवेश गरेका युवाहरूले अबको निकास र जिल्लाको समग्र विकासका लागि माधव सापकोटा र नेपाली कम्युनिष्ट पार्टीकै पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएका छन्।













