नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनकेन्द्रित गरेर पार्टीका निकायहरूमा ३४ बुँदे पत्र पठाएको छ।कांग्रेसले चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिनसमेत उम्मेदवार लगायतलाई सचेत गराएको छ।
‘स्थानीय मुद्दाहरू पहिचान गरेर त्यसप्रति पार्टीको प्रतिबद्धता व्यक्त गरिरहँदा ‘चुनाव जित्न जे पनि आश्वासन दिने’ गलत राजनीतिक प्रवृत्तिबाट होइन, स्थानीय नागरिक लाभान्वित हुनसक्ने कोणबाट टुंगोमा पुग्ने,’ निर्वाचन परिचालन निर्देशिकामार्फत् कांग्रेसले पार्टीका निकायहरूमा पठाएको परिपत्रमा उल्लेख छ।

साथै कांग्रेसले भौतिक निर्माणका परियोजनाबारे कुनै पनि क्षेत्रमा लहडका आधारमा नबोल्न भनेको छ।
‘पूरा गर्न सकिने ‘फिजिबल’ र लाभ हासिल गर्न सकिने ‘भायबल’ कोणबाट हेर्न, बुझ्न र टुंगोमा पुग्नुपर्ने हुन्छ,’ कांग्रेसले भनेको छ, ‘राष्ट्रिय योजनाहरूबारे केन्द्रको टिमले दृष्टि निर्माण गर्नेछ, स्थानीय परियोजनाका सम्बन्धमा स्थानीय आवश्यकताका आधारमा धारणा निर्माण गर्ने सजगता पार्टीले राख्नुपर्नेछ-राख्नेछ।’
कांग्रेसले दबाब दिएर आर्थिक सहयोग संकलनमा पनि बन्देज लगाएको छ।
‘प्रचार अभियानअघि बढाउन जरूरी आर्थिक व्यवस्थापन गरिरहँदा स्वतःस्फूर्त सहयोगलाई स्वीकार गर्ने तर कुनै पनि ठूला साना व्यवसायीलाई देशभर कहिँ पनि दबाब नदिने,’ कांग्रेसले भनेको छ, ‘साझा दायित्व-साझा स्वामित्व बोधका साथ पार्टीका सदस्यहरूको सहभागितामा सहकार्यको निश्चित कोष क्षेत्रमा खडा गरेर चुनावी अभियानलाई भरथेग गर्ने, फजुल खर्च नगर्ने।’
चुनाव सकिएको १५ दिनभित्र निर्वाचन आयोगलाई खर्च विवरण उपलब्ध गराउनसमेत कांग्रेसले आग्रह गरेको छ।













