सिन्धुपाल्चोक । बलेफी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष नारायण खड्काले आउँदै गरेको निर्वाचनलाई मध्यनजर गर्दै विद्यालयमा अध्यापनरत शिक्षक–शिक्षिकालाई राजनीतिक गतिविधिमा संलग्न नहुन कडा चेतावनी दिनुभएको छ।
अध्यक्ष खड्काले शिक्षक–शिक्षिकाले राजनीतिमा लागेर विद्यार्थीको पठन–पाठन र भविष्यसँग खेलवाड गर्न नपाइने स्पष्ट पारेका छन् । यदि कुनै शिक्षक वा शिक्षिकाको राजनीतिक संलग्नताका कारण अभिभावक वा विद्यार्थीबाट गुनासो आएमा बलेफी माध्यमिक विद्यालयको विव्यस तथा अभिभावक समूहले कानुनी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ।

कुनै राजनीतिक दलको झन्डा, प्रचार–प्रसार वा दलगत गतिविधिमा संलग्न भई सामाजिक सञ्जालमा देखिएमा समेत कडा कारबाही गरिने उल्लेख गरिएको छ।एसईई परीक्षा नजिकिँदै गरेको सन्दर्भमा शिक्षक–शिक्षिकाले आफ्नो दायित्व र जिम्मेवारीलाई गम्भीरतापूर्वक बुझी विद्यार्थीको उज्ज्वल भविष्यप्रति संवेदनशील हुन विव्यस अध्यक्ष खड्काले आग्रह गरेको छ।
बलेफी माध्यमिक विद्यालयको विव्यस टोलीले सम्पूर्ण शिक्षक–शिक्षिकालाई विद्यार्थीको पठन–पाठनमा पूर्ण ध्यान दिन र कुनै पनि राजनीतिक प्रभावबाट टाढा रहन विनम्र अनुरोध समेत गरेको छ।






