हल्का वर्षासहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् । गएरातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण घुम्न आएका पर्यटक बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– १ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।
‘सडक र पदमार्गमा हिउँ जमेर यातायात सञ्चालन तथा पैदलयात्रा गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘जोखिम हुने भएकाले पर्यटक बास बसेको ठाउँबाट बाहिर निस्किएका छैनन् । ननिस्कन आग्रहसमेत गरेका छौँ ।’

मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, म्याग्दी र मुस्ताङका जिल्ला प्रशासन कार्यालयले आजदेखि वर्षा र हिमपात हुने भएकाले पदयात्रामा नजान सोमबार सार्वजनिक सूचना जारी गरेकाले पर्यटक कम आएका जनाइएको छ ।
अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशविन्दुमा रहेको हुमखोलाका होटल व्यवसायी तेज गुरुङले आज बिहानैदेखि पदमार्गमा आवतजावत नभएको जानकारी दिए । ‘अघिपछि दैनिक पाँच सय जना पर्यटक आएकामा सोमबार दुई सय जना जति आएका थिए’, उनले भने, ‘वर्षात् र हिमपात भएकाले आजको पदयात्रा स्थगित गरेर बसेका छन् ।’






