सिन्धुपाल्चोक-नेपालमा जेन्जीहरूको हुरी आयो। वर्तमान राजनीतिक दल र त्यसका नेताहरूमा प्रत्यक्ष प्रभाव पर्यो। जनकारबाहीदेखि घरबारविहीनसम्म हुन पर्यो। सेनाको निगाहमा जीवन समर्पण गर्न बाध्य भए। जेन्जीको नियन्त्रणबाट नयाँ प्रधानमन्त्री नियुक्त गरियो र संसद् विघटन भयो। राष्ट्रपति र सेनाको सहजीकरण सकेसम्म सरल र सहज बाटो हिँडाउने नै रह्यो।
अस्थिर मिडियाको चङ्गुलमा आम नागरिकको त्रासदीपूर्ण जीवन व्यतीत भयो।जब प्रधानमन्त्री शुसिला कार्की नियुक्त भइन, त्यसपछि दलै–दलबीच ढोल बज्न थाल्यो। आ–आफ्नो रंग र ढंगको ढर्रा प्रस्तुत गर्न थाले। “यो मान्दैनौं, त्यो मान्दैनौं” भन्ने अडान चर्कियो। फेसबुकलगायत सामाजिक सञ्जाल रंगिन भए।उता नागरिकहरूको आस्थाका धरोहरहरू खरानी भए। कैदीबन्दी फरार भएको कारण जनजीवन प्रभावित भयो। कतिपय नागरिक शोकमा छन्। कतिपय नेताहरू अझै होसमा फर्कन सकेका छैनन्। मुलुक कुन बाटो हिँड्छ भन्ने एकिन छैन। संविधानको रक्षा हुन्छ कि हुँदैन भन्ने चिन्ता छदै छ।

यसबीचमा सकभर सहमतिको बाटो हिँड्नुपर्ने थियो। केही हदसम्म हिँडेको अनुभूति भए पनि पर्याप्त थिएन। जेन्जीहरूको आगोसँग आम नेपालीको पानीसरहको भावना मिलाउनुपर्ने थियो। राष्ट्रपति र सेनापतिको भूमिका यस अर्थमा सराहनीय देखियो।सामाजिक सञ्जालमा घरमा बसेर चुक्कुल लगाएर मनका कुरा लेख्न त सजिलो होला, तर सडकमा उभिएर बोल्नु त्यति सजिलो थिएन। अहिले हुरी केही रोकिएको छ। राजनीतिक दलहरूको मुख खुल्न थालेको छ।
तर अब जे पायो त्यही र मन लाग्दो बोल्ने बेला छैन। यो आत्मसमीक्षा गर्ने, आफूमा लागेको धुलो टक्टकाउने समय हो। कतिपय मानिसहरू कम बोलेर पनि नेतृत्वदायी भूमिका निभाइरहेका छन्। बढी बोलेर छिछी र दुरदुर हुनुभन्दा कम बोलेर धेरै काम गरेर देखाउने महानता होइन र? छातीमा हात राखेर भनौं त—कसकोजल्नुपर्ने भ्रष्टाचारको मोह वा मानसिकता थियो, तर देशका धरोहर जल्यो। दुःखका साथ भन्नुपर्छ—आम नेपालीको मन जल्यो।
अब नेता र नेतृत्व सच्चिनै पर्छ। नेतृत्वको भूमिका पारदर्शी हुनुपर्छ। भ्रष्टाचारमुक्त र जबाफदेही नेतृत्व निर्माण हुनुपर्छ। को कति देशभक्त, को कति जनप्रेमी भन्ने हिसाब सहज समयमा गर्ने हो। अहिले मुलुक दुर्घटनाबाट जोगाउन सबैले साथ र सहयोग दिनुपर्छ।यो बेला सामाजिक सञ्जालमा बोलेर मात्र नेता हुँदैन। नेता उसको भूमिकाले निर्धारण गर्ने हो। पानीमाथिको ओभानो हुन खोज्ने र अरूको अस्तित्व स्वीकार्न नसक्ने प्रवृत्ति हावी भइरहेको छ—यो रोक्नुपर्छ। कम्तिमा पनि अलिकति पत्याउने बोली बोलौं, अलिकति भए पनि अनुसरण गर्ने बोली बोलौं।अरूलाई ऐना देखाउनुअघि आफू ऐना हेरौं।
पक्कै पनि राजनीतिक नेतृत्वको छवि धमिलो थियो। यसबारे सबै गम्भीर बनौं। आफू सुधारिन तयार बनौं।अन्योलताको भुमरीबाट केही राहत मिलेको छ। मुलुकले नयाँ प्रधानमन्त्री महिला पाएको छ। मन्त्रिपरिषद् पनि नयाँ बन्नेछ। कम्तीमा पनि मन्त्रालयको भूमिका र जिम्मेवारी बुझ्नेहरू आउनुपर्छ। एक हप्ताभित्रै भएको आगोदेखि खरानीसम्म, घरबासदेखि बनबाससम्म, मर्नेदेखि मार्ने सम्म र सडकदेखि सदनसम्मको घटनाबाट मुलुकले धेरै पाठ सिकाएको छ—अब सिकौं र मनन गरौं। कारण यति विपत्ति भयो?भ्रष्टाचारविरुद्ध युवाको आगो दन्कँदा र त्यसलाई अनियन्त्रित पार्ने हुरी बीचै चल्दा भौतिक संरचना ध्वस्त भयो।






