जेनजी पुस्ताले आव्हान गरेको आन्दोलनपछि देश अहिले नयाँ संक्रमणकालमा प्रवेश गरेको छ । भ्रष्टाचार र कुशासन अन्त्य, सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारको निर्णयविरूद्द उठेको आन्दोलनले सरकारलाई नै विस्थापित गरिदियो ।
नयाँ पुस्ता जागेको दिन सरकारमात्र विस्थापन भएन जेनजीको आन्दोलनमा घुसपैठ गर्नेहरूले सिंहदरबार,सर्वोच्च अदालतसहित सरकारी संरचनाहरूसहित केही व्यापारिक भवनमा समेत आगजनी गरे । ३१ आन्दोलनकारी र ३ नेपाल प्रहरीले ज्यान गुमाए, सयौं घाइते छन् । जनतालाई जे गरेपनि हुन्छ ठान्ने शासकको मनोवृत्ति पनि अहिलेको अवस्था आउनुमा कारक छ ।

हरेक आन्दोलनका बेलामा ‘मौका छोप्ने’ समूह सक्रिय हुनु नयाँ विषय होइन । एक प्रकारले केही घण्टा देश राज्यविहीन हुनपुग्दा देशमा ‘रूल अफ ल’ होइन ’हुल अफ लझ लागू भयो । हुलले जे चाह्यो, त्यही भयो । तर, नेपाली सेना कर्फ्यू घोषणा गर्दै सडकमा उत्रिएपछि अहिले अवस्था सामान्य हुँदैछ । तर, केही समय अघि सिर्जित अत्यासपूर्ण अवस्थाले सबैलाई झस्काइरहेको छ ।
जेनजीले अघि सारेको व्यक्तिको नेतृत्वमा नयाँ सरकार बन्ने पक्का भइसकेको छ । तर, नयाँ बन्ने सरकारलाई सिंहदरबारमा खरानीको थुप्रोमाथिबाट शुरू गर्नुपर्ने शासन कम चुनौतीपूर्ण भने छैन । जे होस्, अहिलेको शून्यता चिर्दै देशलाई एउटा बाटोमा हिँडाउन जरूरी छ । संविधानको परिधिभित्र रहेर खोजिएको विकल्पले देशलाई पुनः लयमा फर्काउन सहज हुनेछ । उसो त संक्रमणकालमा भूराजनीतिक चलखेल र कमजोर वातावरणको लाभ लिन पुनरूत्थानवादी र प्रतिगामी शक्तिहरूको सलबलाट त बढ्नेनैछ । त्यसलाई चिर्दै नेपाल लयमा फर्कियोस् । अहिले गर्न सकिने यहि कामना मात्रै हो ।
जे होस्, युवापुस्ताले विद्रोहको झण्डा उठाएको छ । राजनीतिक चेतसहित युवाहरूले उठाएका जायज मागहरू सम्बोधन गर्नुपर्छ । त्यसतर्फ सचेत प्रयास होस् ।
जेनजी आन्दोलनको मर्म के ?
१. भ्रष्टाचार रोकौं
जेनजी मुभमेन्टले सामाजिक सञ्जालमाथिको रोक र भ्रष्टाचार अन्त्यको माग गरे । पहिलो माग पूरा भइसकेको छ । आन्दोलनमा दमनको जिम्मेवारी लिँदै तत्कालिन गृहमन्त्री रमेश लेखकले राजीनामा मात्र दिएनन् सरकारनै विस्थापित भइसकेको छ । अब पूरा गर्नुपर्ने महत्वपूर्ण माग हो ‘स्टप करप्सन’ । भ्रष्टाचार कसरी रोक्ने ? यो अहिलेको अहम् मुद्दा हो । देशलाई खोक्रो बनाइरहेको भ्रष्टाचार अन्त्यविना देश समृद्ध हुन सक्दैन ।
भ्रष्टाचार रोक्न गर्नुपर्ने धेरै काम मध्ये महत्वपूर्ण काम यसको जरामै सुधार गर्नुपर्छ । शासनमा पुग्न पैसा खर्च गर्ने र त्यो पैसा शासनमा पुगेर असुल गर्ने काममा निर्वाचन प्रणाालीले काम गरिरहेको छ ।
शासन र शक्तिको बलमा भ्रष्टाचार अति भयो । भ्रष्टाचारको जड निर्वाचन प्रणालीसँग जोडिएको छ । सांसद विधायकको भूमिकामा रहने, विज्ञहरू मन्त्री बन्ने व्यवस्था गरौं । यसो गर्दा मन्त्रीहरू भ्रष्टाचारमा जोडिने सम्भावना कम हुन्छ भने सांसद मन्त्री नहुने व्यवस्था गर्दा चुनावमा हुने खर्च न्यूनिकरण हुन्छ । जसरी पनि सांसद हुने प्रवृत्ति निरूत्साहित हुन्छ ।
प्रतिनिधिसभा १६५ सदस्यीय बनाऔं । समावेशीताको सुनिश्चितता गर्ने गरि क्षेत्र तय गरौं । राष्ट्रियसभा पूर्ण समानुपातिक ( विज्ञहरूको सभा बनाओैं । हरूवाहरूको व्यवस्थापनको थलो होइन) बनाओैं ।
२. नेता र कर्मचारीको सम्पत्ति खोज्ने आयोग
भ्रष्टाचारको आहाल फैलिएर दुषित समुद्र बनेको छ । यहाँ फैलिएका विषाक्त माछाहरूको देश तथा विदेशमा व्यवस्थापन गरिएको कालो धन खोजौं । सम्पत्ति राष्ट्रियकरण गरौं । देश नेताले जति लुटेका छन्, त्यसको धेरै गुणाा बढी देश कर्मचारीहरूले लुटेका छन् । ०४६ पछि जागिर खाएका सुब्बादेखि मुख्यसचिवसम्मको सम्पत्तिको स्रोत खोजौं । तीनका कालो धन राष्ट्रियकरण गरौं । यसो गर्दा अब शासन, प्रशासनमा आउनेहरूले भ्रष्टाचार गर्ने दुस्साहस गर्ने छैनन् । सुशासनतर्फ देश अघि बढ्नेछ ।
३. निजामती प्रशासन बदलौं
राजनीतिक व्यवस्था पटक-पटक बदलियो तर नागरिकमा आशा जागेन । नेतृत्वको नालायकीसँगै यसो हुनुमा निजामति प्रशासनको कामबारवाही पनि मुख्य कारण हो । अहिलेको निजामति प्रशासन कायम राखेर जो मन्त्री, प्रधानमन्त्री बनेपनि र जस्तो शासन आएपनि त्यसले परिणाम नदिने पक्का छ । आम नागरिकप्रति उत्तरदायी सेवामुखि निजामती प्रशासन बनाऔं । हजारौं क्षमतावान युवाका लागि रोजगारीको अवसर सिर्जना गरौं ।
४. संघीयतामा संशोधन गरौं
अहिले देशमा ३ तहको सरकार छ । प्रदेश सरकारको खासै काम देखिएको छैन । प्रदेश संरचना राखौं । तर, प्रदेश सरकार खारेज गरौं । खर्च कटौती गरौं । स्थानीय तहको सँख्या घटाउँ र स्थानीय तहलाई थप प्रभावकारी बनाओैं ।
५. नेता र दलतन्त्र हटाऔं, लोकतन्त्र कायम गरौं
राजनीति शास्त्रको विद्यार्थीको रूपमा हेर्दा अहिले देशमा लोकतन्त्र छैन । अहिले नेपालमा लोकतन्त्रको नाममा नेता तन्त्र वा अर्काे रूपमा भन्दा दलतन्त्र छ । यो दलहरूले लोकतन्त्रको जामा लगाएर चलाइरहेको दलतन्त्रको दलदलबाट नेपाली समाजले मुक्ति खोजेको छ । दलतन्त्रको अन्त्य गरौं । लोकतन्त्र स्थापना गरौ । जहाँ दल र नेता होइन लोक ( जनता) को शासन चलोस् ।
६. दल रहने हो भने सच्चिउन्
संसदीय व्यवस्थामा दलहरू हुन्छन् । तर, अब दलहरू यसैगरी रहन सक्दैनन् भन्ने सन्देश समाजले बालेन, हर्क र रविलाई मत दिएर संकेत गरेका हुन् । तर, परम्परागत दलहरू कांग्रेस, एमाले र माओवादीले समाजको संकेत बुझेनन् । गुण्डा, बदमास ठेकेदार र पैसाको बलमा जे पनि गर्न सक्छु भन्ने सुण्डमुसुण्डहरूलाई अवसर दिइरहे । आफ्नो वरिपरि पहिलो घेरामा राखे । इमान्दार कार्यकर्ता सधैँ किनारामा धकेलिए । अवसर वितरणमा समानता भएन । पार्टीभित्रै असन्तुष्टिको ज्वालामुखी जमेको छ । समाजमा हुने हलचलमा त्यो असन्तुष्टिले पनि काम गरेको छ ।
अहिलेको विषमतामा ती इमानदार कार्यकर्ता नेताहरूमाथि जे भयो त्यसमा धेरै दु:खी छैनन् । सिंहदरबार, सर्वोच्च अदालत जलेकोमा भने तिनले निको मानेका छैनन् । दलभित्र नयाँ पुस्तालाई निषेध गरेर, छेकेर अब तिमीलाई पर्खनेमा युवाहरू छैनन् । दलहरूले यो बुरा बुझ्न जति ढिला गर्छन् त्यति क्षति बेहोर्छन् । सच्चिने कि सकिने ? नारा कायम राखेर दलहरू जीवित रहन सक्दैनन् । रहने हो भने नयाँ ढँगले सोचुन् ।
कम्तीमा यी ६ विषय अघि बढ्यो भने अहिले नेपाली समाजले व्यक्त गरेको असन्तुष्टि सम्बोधन शुरू हुनेछ । अन्यथा अहिलेको जस्तो अप्रत्याशित घटनाक्रम जुनकुनै बेला नेपाली समाजको नियति बन्न सक्छ । समयमै सोचौं । समाजमा रहेको असन्तुष्टि हरक्षण आइरहने भूकम्पजस्तै हो । परिस्थिति बन्दा कुनै पनि बेला विष्फोट हुनसक्छ ।
चेतना होस् ।






