सिन्धुपाल्चोक –तातोपानीबाट बाह्रबिसेतर्फ गइरहेको एउटा बोलेरो गाडी भोटेकोसी नदीमा खसेको छ। दिउँसो साढे ३ बजे भोटेकोसी गाउँपालिका–२, हिन्दीस्थित कोदारी सडकबाट बा २१ च ७५४४ नम्बरको बोलेरो २० मिटर तल नदीमा खस्दा चालक र सहचालकसहित दुईजना बेपत्ता भएका छन्।
बेपत्ता हुनेहरूमा चालक सर्लाहीका राजेशकुमार कुशहवा (२३) र सहचालक रौतहटका रामप्रवेश महतो (२५) रहेको प्रहरीले जनाएको छ।

घटनास्थल पुगेको प्रहरी टोलीले बोलेरो नदीबाट बाहिर निकालिसकेको छ। इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेका अनुसार, गाडी तान्ने क्रममा एउटा शव नदीले बगाएको देखिएको र अर्को शव पनि पहिले नै बगाएको हुन सक्ने अनुमान गरिएको छ। बेपत्ताहरूको खोजी कार्य जारी छ।













