पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मांसपदार्थ र हड्डीको चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएसँगै प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको प्रारम्भिक अनुमान छ- शवबाट मासु र हड्डी निकालेर मसान जगाउने अघोरी बाबालाई बेचिन्छ ।
मलामीले दिएको निवेदनका आधारमा शुक्रबार पशुपति आर्यघाटमा घाटे काम गर्ने गणेश ढकाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । उनले अहिलेसम्म ठोस जजाफ दिएका छैनन् । काभ्रेको बनेपा- ९ का राम शाहीको शव अत्येष्टिका क्रममा शुक्रबार शव दहन भइसकेपछि एक टुक्रा मासु झिकेर अन्य व्यक्तिलाई रहस्यमय तवरले दिइएको भन्दै शाहीका मलामीले प्रहरीलाई खबर गरेका थिए ।

घाटे गणेशले मृतक शाहीको शवबाट मासु झिकेर जोगीजस्तो देखिने व्यक्तिलाई पाँच सय रुपैयाँमा विक्री गरेको आरोप शाहीका मलामीले लगाएका छन् । त्यसमध्ये सय रूपैयाँ सहयोगीलाई र चार सय रुपैयाँ ढकाल आफैँले राखेको उनीहरुको आरोप छ । तर, ढकालले पैसा लिएको कुरा स्वीकार गरेका छैनन् ।
अघोरी बाबासँगको मिलेमतोको आशंका
कतिपय अघोरी बाबा मसान जगाउनका निम्ति मान्छेको हड्डी खेलाउने, रगत पिउने र मासु खाने हुन्छन् ।
जीवित मानवबाट रगत र मासु संकलन गर्ने कुरा सम्भव नहुँदा शवको मासु निकालिएको हुनसक्ने प्रहरीको अनुमान छ । मानिसको नलीखुट्टाको हड्डी खेलाएर मसान जगाउने अघोरी बाबाले शव दहनको काम गर्ने घाटेसँग मिलेमतो गरेको अनुमान अनुसन्धानरत ती प्रहरीले गरेका छन् ।













