सिन्धुपाल्चोक -हरियालीले ढाकिएको, प्राकृतिक सौन्दर्य, धार्मिक र सांस्कृतिक गाथाले सजिएको गुफाडाँडा यही ठाउँबाट देशभर जलवायु चेतनाको पहिलो राष्ट्रिय आवाज उठेको थियो। तर, आज त्यो ठाउँ बिकासको गतिमा हेर्ने हो भने ओझेलमा परेको छ ।

शनिबार, ‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ भन्ने नारासहित सञ्चारकर्मीहरूको टोलीले पत्रकार पदयात्रा २०८२ को क्रममा गुफाडाँडाको अवस्था नजिकबाट नियाल्ने अवसर प्राप्त गर्यो । कार्यक्रममा प्रमुख अतिथि मेलम्ची नगर प्रमुख श्री आइतमान तामाङज्युले आफ्नो धारणा राख्दै भन्नुभयो “राष्ट्रपति, मुख्यमन्त्री देखि मन्त्रीसम्म यहाँ आएर जनतालाई गरेका आश्वासनहरू पुरा भएका छैनन्। अब प्रदेश सरकारले जनतालाई झुटा सपना देखाउने होइन, काम गरेर देखाउने बेला हो।

प्रमुख तामाङले भन्नु भयो गुफाडाँडा केवल डाँडा होइन ! यो प्रचुर सम्भावना बोकेको स्थल हो, जुन २०७४ को जलवायु सम्मेलनबाट राष्ट्रिय चासोमा आएको थियो।तर, आज संघीय र प्रदेश सरकारको उपेक्षाले यहाँको पूर्वाधार थलिएको छ। स्थानीय सरकारले जे जति सकिन्छ गर्दै आएको छ, तर त्यो प्रयाप्त छैन।

अब घोषणापत्रको राजनीति होइन, ठोस कामको नेतृत्व आवश्यक छ।काठमाडौंबाट ५४ किलोमिटर मात्र दुरीमा रहेको यो पर्यटकीय स्थानमा संघ र प्रदेश सरकारको ध्यान वर्षौं देखि भाषणमा मात्र सीमित रहेको उहाँले बताउनु भयो । गुफाडाँडालाई राष्ट्रिय जलवायु सम्मेलनस्थल, पर्यटकीय गन्तव्य, र जलवायु अध्ययन केन्द्र बनाउन तीनै तहका सरकारको समन्वय, लगानी र इच्छाशक्ति अनिवार्य रहेको उँहाको भनाई थियो ।













