मेलम्ची – सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहहरूमध्ये मेलम्ची नगरपालिका यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा तेस्रो स्थानमा उक्लिएको छ। शिक्षाको क्षेत्रमै उभिएको यो ऐतिहासिक सफलताले सम्पूर्ण नगरवासीलाई गर्वित बनाएको छ।


नगरको यो सफलता कुनै संयोग होइन, बरु वर्षौं देखिको निरन्तर प्रयास र प्रतिबद्धताको फल हो। शिक्षालाई विकासको मेरुदण्ड मानेर अघि बढिरहेको मेलम्ची नगरपालिकाले आगामी दिनहरूमा अझ गुणस्तरीय शिक्षा प्रवाह गर्न थप योजना अघि सार्ने नगरप्रमुख श्री आइतमान तामाङज्यूले बताउनु भयो । हामी परिणाममा मात्र होइन, प्रक्रिया र गुणस्तरमा विश्वास गरेको छौं । मेलम्चीको शिक्षा क्षेत्रलाई अझ उज्यालो बनाउने हाम्रो अठोट रहेको बताउनु भयो ।

विगतका केही वर्षमा शिक्षा क्षेत्रमा गरिएको लगानी, विद्यालयहरूको भौतिक पूर्वाधारमा सुधार, प्रशिक्षित शिक्षकहरूको व्यवस्थापन र विद्यार्थी मैत्री वातावरणले यो सफलता सम्भव भएको शिक्षा अधिकृत श्री सुदिनाराज बुढाथोकीले बताउनु भयो ।
साथै अभिभावक, शिक्षक र विद्यार्थी सबैको साझा प्रयत्नबाट मेलम्चीले पाएको यो सफलता संगै आगामी शैक्षिक सत्रदेखि थप नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास आम नगरवासीले ब्यक्त गरेका छन् ।













