सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका–१२ गिरान्चौर स्थित महाकाली माध्यमिक विद्यालयमा आज “हामी सबैको सरोकार, विद्यालय शिक्षामा सुधार” भन्ने आदर्श वाक्यसहित सामुदायिक विद्यालय शिक्षाको सरोकारवाला पक्षहरू बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकेन्द्र तामाङको अध्यक्षता तथा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तामाङले शिक्षा नै मानिसको भविष्य निर्धारण गर्ने भएकाले यसलाई अत्यधिक प्राथमिकता दिनुपर्ने बताउनुभयो। परीक्षा प्राविधिक विषय भएकाले यसप्रति संवेदनशील बन्नुपर्ने उल्लेख गर्दै, एसईई परीक्षापछि विद्यार्थीहरू थप चुनौतीमा पर्ने हुँदा नगरपालिकाले आफ्नै क्षेत्रमा अध्ययन गर्नेहरूलाई सहयोग गर्ने बताउनुभयो।
नगर प्रमुख तामाङले, “विद्यार्थीले आफ्नो गाउँ ठाउँ नबिर्सुन, आवश्यकता परे काठमाडौँको कलेजमा पढ्न चाहने विद्यार्थीलाई पनि सिफारिस गर्छौं, सहयोगका लागि हामी तयार छौं,” भन्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँले नगरपालिकाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइ लगायत क्षेत्रमा उल्लेखनीय कार्य गरेको दाबी गर्दै गिरान्चौर–भोटेचौर सडक मर्मत, वडा कार्यालय निर्माण, सडक कालोपत्रे जस्ता कार्यहरूको स्मरण गर्नुभयो। नगर प्रमुखले अझै बाँकी रहेका कामहरूलाई पनि निरन्तरता दिइने प्रतिवद्धता दोहोर्याउनुभयो।













