सिन्धुपाल्चोक -हामी नागरिककाे माैलिक हक र प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध छाैं । पछिल्लो समय केही अनलाइन सञ्चार माध्यमले महालेखा परीक्षणकाे प्रतिवेदनकाे हवाला दिंदै मेलम्ची नगरपालिकाकाे विषयमा तथ्यहिन समाचारहरु प्रकाशन गरेका छन् । महालेखा परीक्षककाे प्रतिवेदन प्रति हामी गम्भीर र सचेत छाैं । बेरुजु कम गर्न हामी प्रयत्नशील पनि छाैं ।हामीलाई लाग्थ्याे रिपोर्टिङ गर्ने साथीहरु विज्ञ हुनुहुन्छ र उहाँहरुले राम्रो अध्ययन गरेर मात्र समाचार बनाउनु हुन्छ । हामीले बुझेकाे पत्रकारिता ABC अर्थात ,तथ्य , सन्तुलित र विश्वसनीय हुनुपर्छ । तर, महालेखाकाे प्रतिवेदनलाई हचुवामा व्याख्या गरेर लेखेकाे समाचार प्रति हाम्राे गम्भीर ध्यानाकर्षण भएकाे छ । किन भने महालेखा परीक्षककाे कार्यालयले सार्वजनिक गरेकाे प्रतिवेदन वेभ साइटमा समेत छ, त्यहाँ हेरेर पनि वास्तविकता बुझ्न सकिन्छ । केही पत्रकार साथीहरुले नगरपालिकाकाे नियम बिपरित मागेकाे विज्ञापनकाे भुक्तानी गर्न नसक्दा र किताब लेख्न पेश्की मागेकाे पैसा नियम बिपरित भुक्तानी नगरेका कारण प्रतिशाेधपूर्ण ढंगबाट नगरपालिकालाई बदनाम गराउने गरि एउटै समाचार विभिन्न अनलाइनमा कपी पेस्ट गरेर प्रकाशन गरिएकाे छ ।


उहाँहरुले गलत ढंगबाट पैसा मागेकाे प्रमाण हाम्राे सचिवालयमा सुरक्षित छ । पत्रकारिताकाे सामान्य सिद्धान्त समेत पालना नगरि लेखिएको याे समाचार केबल पित पत्रकारिताकाे ज्वलन्त नमूना मात्र हाे । हामी बिना आधार हाम्राे बदनाम गराउने गरि लेखिएका समाचार विरुद्ध मिडियाकाे नियामक निकाय प्रेस काउन्सिलमा जाने तयारि गरिरहेका छाैं । हामी पारदर्शी छाैं, नगरपालिकाले सम्पादन गरेका गतिविधिकाे सूचना तपाईंहरुले चाहेकै बेला हामी उपलव्ध गराउँछाै । त्यसैले गलत समाचारकाे प्रभावमा नपर्न र केही स्वार्थ पूर्ति नभएका व्यक्तिहरुले गरेका गलत प्रचारकाे पछि नलाग्न सबै नगरवासीमा हामी आग्रह गर्दछाैं ।













