सिन्धुपाल्चोक -बिहीबार मेलम्ची नगरपालिकामा आयोजित विशेष समारोहमा नगर प्रमुख श्री आइतमान तामाङज्यूको अध्यक्षतामा यो महत्वपूर्ण घोषणा गरिएको हो । पूर्ण खोप, सुरक्षित भविष्य” भन्ने नाराका साथ मेलम्ची नगरपालिकालाई आर्थिक वर्ष २०८१/०८२ का लागि पूर्ण खोप सुनिश्चितता र दिगोपनाको घोषणा गरिएको छ। कार्यक्रममा उपप्रमुख श्री उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत श्री निमेष मिश्र, वडाध्यक्षहरू, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।


समारोहमा बोल्दै नगर प्रमुख तामाङले नगरवासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै खोप अभियानलाई अझ प्रभावकारी बनाउन नगरपालिकाले निरन्तर प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे। उपप्रमुख प्रधानले समुदायको सक्रिय सहभागिता र स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंसा गर्दै खोप अभियानलाई दिगो बनाउन सबैलाई आग्रह गरिन्।
पूर्ण खोप सुनिश्चितता घोषणा मार्फत मेलम्ची नगरपालिका भित्र १६ महिना देखि ५९ महिना उमेरका १७४७ जना बालबालिकाहरुले आवश्यक सम्पूर्ण खोप सेवा प्राप्त गरिसकेको पुष्टि भएको छ। साथै, खोपको पहुँच र स्थायित्व कायम राख्नका लागि नगरपालिकाले आगामी दिनमा समेत आवश्यक कार्यक्रमहरू संचालन गरिने प्रमुख तामाङले बताउनु भयो ।













