सानोगौचरनमा रंगशाला पुनर्निर्माण सुरु

काठमाडौं महानगरपालिकाले सानो गौचरन स्टेडियम पुनर्निर्माण थालनी गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर आजबाट पुनःनिर्माणको काम थालनी गरेको हो ।

२२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आव्हान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ ।

स्टेडियम पुनःनिर्माणको शिलान्यास गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको बताइन् ।

‘सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकास सँगै लैजानुपर्छ । यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत स्टेडियम पुनःनिर्माण गर्न लागेका हौँ ।’ विद्यालय स्तरबाट खेलाडी उत्पादनका लागि कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उनले यो प्रयासबाट राष्ट्रिय पहिचान दिन सक्ने खेलाडी प्राप्त हुने अपेक्षा राखिन्।

वडामा स्टेडियम पुनःनिर्माणले स्थानीय विकासलाई उचाइमा लैजाने वडा नं। ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले धारणा राखे ।

‘टोलहरु र चोकहरुमा मौलिक खेल पुनरुत्थान गरिरहेका छौँ । यहाँ व्यवस्थित फुटबल ग्राउण्ड निर्माण हुन्छ । भत्केको पुलमा करिब ५ रोपनी क्षेत्रफल जमिनमा बास्केटबल, टेबुलटेनिस, व्याटमिन्टन र फुटसलका लागि पूर्वाधार तयार गरिरहेका छौँ ।’

स्टेडियमको ड्रइङ्, डिजाइन र लागत अनुमान सहरी योजना आयोगले तयार पारेको हो ।

स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, तीनवटा पुरुषका लागि तीनवटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र दुईवटा टिम लकर हुनेछन् । निर्माण कार्यको सार्वजनिक खरिदका लागि २०८१ वैशाख ३ गते सार्वजनिक सूचना जारी भएको थियो । यसबाट १६ जना आवेदकले प्रस्ताव पेस गरेका थिए।

छनोट भएको निर्माण पक्षलाई कात्तिक २५ गते कार्यादेश दिइएको छ । यो काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।  रंगशाला १८ रोपनी १ आना २ पैसा ३ दान क्षेत्रफलमा निर्माण हुनेछ । यसमा दर्शकक्षमता एक हजार पाँच सयजनाको हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर