काठमाडौं- प्रमुख सत्तारूढ दल नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य थापालाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
रुपन्देहीको सैनामैना नगरपालिका–११ निवासी २९ वर्षीय प्रदीप पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पन्तले ह्वाट्सएपमार्फत मध्यराति धम्कीपूर्ण सन्देश पठाएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सन्देशमा ‘लाइफ अन थ्रेट, क्यान्सिल रुपन्देही’ जस्ता शब्द प्रयोग गर्दै थापालाई ज्यान मार्ने आशयको धम्की दिइएको थियो।थापाले घटनापछि सामाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान अघि बढाएकोमा प्रहरीले देखाएको सक्रियताप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले धम्की दिने व्यक्तिको परिचय खुल्ने कागजातहरू पनि सार्वजनिक गरेका छन्।
थापाले लेखेका छन्,“मलाई मध्यराति (११:४६ बजे) धम्कीपूर्ण एसएमएस पठाउने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएकोमा प्रहरीलाई धन्यवाद छ। ऊ को रहेछ ? हेर्नुहोला।”प्रहरीका अनुसार अहिले घटनासम्बन्धी थप अनुसन्धान जारी छ।







