काठमाडौं– नेपाली पत्रकारिता, समाजसेवा र मानवअधिकारका क्षेत्रमा अतुलनीय योगदान पुर्याएका वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ।
उहाँको निधन आइतबार राति बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा भएको हो। मुटु तथा फोक्सोसम्बन्धी समस्याबाट पीडित रिसाल केही समयदेखि स्वास्थ्य समस्याका कारण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो।

वि.सं. १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा जन्मिनुभएका रिसाल नेपाली पत्रकारिता क्षेत्रका एक जाज्वल्यमान नाम मात्र होइन, समाज र मानवअधिकारप्रतिको गहिरो प्रतिबद्धता बोकेका व्यक्तित्व पनि हुनुहुन्थ्यो। उहाँले आफ्नो मृत्युपछि शरीर अध्ययनका लागि पाटन अस्पताललाई दान गर्ने निर्णय गर्नु भएकाे सामाजिक उत्तरदायित्वप्रति उहाँको समर्पणको सजीव उदाहरण हो।
रेडियो सगरमाथामा उहाँले लामो समय सञ्चालन गर्नुभएको लोकप्रिय कार्यक्रम ‘उहिले बाजेका पालामा’ मार्फत नेपाली इतिहास, संस्कृति र जनजीवनलाई जीवन्त रूपमा प्रस्तुत गर्नुभयो। उहाँ वामपन्थी विचारधाराका पक्षधर हुनुहुन्थ्यो र वि.सं. २०४८ सालको आम निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार समेत बन्नुभएको थियो।
रिसालको पत्रकारिता यात्रा राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताका रूपमा झनै सशक्त बनेको थियो। राससमा प्रवेश गर्नु अघि उहाँले तथ्याङ्क विभागमा पनि योगदान दिनुभएको थियो।
उहाँका प्रकाशित कृतिहरूमा ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’, र आत्मकथात्मक कृति ‘भैरव दाइ’ उल्लेखनीय छन्।
मानवअधिकार, वातावरण संरक्षण र साहित्यिक क्षेत्रमा पु¥याएको योगदानका लागि उहाँलाई ‘जगदम्बा श्री’ लगायतका प्रतिष्ठित सम्मानहरू प्रदान गरिएका थिए।वरिष्ठ पत्रकार भैरव रिसालको निधनले नेपाली पत्रकारिता र समाजसेवाको एउटा उज्यालो अध्याय समाप्त भएको छ। तर, उहाँले दिएको ज्ञान, प्रेरणा र सेवा सदैव स्मरणीय रहिरहनेछ।
उहाँ श्रीमती, दुई छोरा र दुई छोरी सहितको परिवारलाई पारिवारिक उत्तराधिकार स्वरूप छाडेर संसारबाट विदा हुनुभएको हो।शताब्दीयौँसम्म उहाँको योगदान नेपाली समाजको मार्गदर्शकको रूपमा जीवित रहनेछ।






