काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा दल दर्ता भएको मात्र आधारमा फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन सुनिश्चित भएको ठान्न नसकिने प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै उनले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेकाले यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा चलिरहेको समयमा निर्वाचन निश्चित भएको दाबी भ्रमपूर्ण मात्र भएको बताए।

‘अहिलेको सरकारले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको स्पष्ट छ। यसको संवैधानिक परीक्षण सर्वोच्चमा भइरहेको अवस्थामा निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा हो,’ पोखरेलले लेखेका छन्।
महासचिव पोखरेलले प्रतिनिधिसभा विघटनका कारण संविधान ‘घाइते’ बनेको आरोप लगाउँदै माघ २३ र २४ गतेका घटनाले संविधानलाई थप कमजोर बनाएको उल्लेख गरे। उनका अनुसार संविधानलाई पुनः सक्रिय बनाउन संसद् पुनःस्थापना अपरिहार्य छ।
यसबाहेक उनले एमाले लोकतान्त्रिक मूल्यलाई जीवन पद्धतिकै रूपमा आत्मसात गर्ने पार्टी भएकाले निर्वाचन आयोगमा दल अद्यावधिक रूपमा दर्ता गरिएको स्पष्टिकरण पनि दिएका छन्।





