प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्।हुण्डी कारोबारमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।
उनीमाथि प्रहरीले ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत अनुसन्धान भइरहेको छ।प्रभु म्यानेजमेन्ट प्रालिको नाममा रहेको सिटिजन्स बैंकको खातामा विभिन्न व्यक्तिहरूको नाममा शंकास्पद रूपमा रकमहरू जम्मा भएका थिए। १० लाख रुपैयाँ नबढ्ने गरी ९ लाख ९९ हजार ५०० रुपैयाँको दरले पटकपटक रकम पठाइएको थियो।

रेमिट कारोबारको क्रममा प्रभु म्यानेजमेन्टले रकम भुक्तानी मात्रै गर्नु पर्नेमा एकैदिन पटकपटक उक्त बैंक खातामा रकम जम्मा भएको थियो।
उनलाई प्रहरीले ललितपुरको गोदावरीबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।





