नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते हस्ताक्षरसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निवेदन दिँदै विशेष महाधिवेशन तत्काल तोक्न माग गरेका छन्। हस्ताक्षर अभियानमा सक्रिय गुरूराज घिमिरेलगायत नेताहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी विधानअनुसार ५५ दिनभित्र विशेष महाधिवेशन घोषणा गर्न केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका हुन्।
उनहरूका अनुसार १५औं महाधिवेशन मंसिरभित्र गराउन सकिने भए पनि पार्टी नेतृत्वले कार्यतालिका प्रवेश नै गराउन नदिँदा प्रक्रिया जटिल र अनिश्चित बनाइएको छ। जालझेल र ढिलाईका कारण अब १५औं महाधिवेशन असम्भव बन्दै गएपछि पौष २८ भित्रै विशेष महाधिवेशन आह्वान गर्नुपर्ने बाध्यता आएको मागकर्ताको भनाइ छ।

विशेष महाधिवेशन मागकर्ताहरूले विधानको धारा १७(२) अनुसार केन्द्रीय कार्यसमितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने कानुनी प्रावधान रहेको उल्लेख गर्दै अबिलम्ब मिति र स्थान तोक्ने निर्णय गर्न आग्रह गरेका छन्। माग सुनिश्चित नभएसम्म आफूहरूको अभियान नरोकिने पनि उनीहरूले चेतावनी दिएका छन्।





