पार्टी नेतृत्वमा सन्तुष्टि छैन, तर म राजीनामा दिँदिन : झलनाथ खनाल

काठमाडौं –नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू कसैको आग्रहमा राजीनामा दिने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन्। शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीबाट भाग्ने या पद त्याग्ने कुरा आफूले कल्पना नै नगरेको बताए।

पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै एक अन्तर्वार्तामा खनाललाई बिदा हुन सुझाएको प्रसंग उल्लेख गर्दै उनले भने, “मलाई कसैले राजीनामा दे भन्दैमा म खुरुक्क दिएर हिँड्दिनँ।”

खनालले २०३२ सालदेखि अध्यक्ष नेपालसँगको सहकार्य स्मरण गर्दै समयक्रममा उनीप्रति सन्तुष्ट हुन नसकेको धारणा व्यक्त गरे। उनले पार्टी अध्यक्षको पद आफैंले नेपाललाई प्रस्ताव गरेको भए पनि आफूलाई पदको लोभ नरहेको उल्लेख गरे।

उनका अनुसार पार्टीभित्र व्यक्तिगत झगडा नभई विचारको बहस छ। “यो दुई व्यक्तिको झगडा होइन,” उनले भने, “यो वैज्ञानिक समाजवाद र लोकतान्त्रिक समाजवादबीचको मार्ग छनोटको विषय हो।”

प्रतिक्रिया
सम्बन्धित खवर