एसईईमा बाल शिक्षा मावि खाडीचौरका तीन विद्यार्थीले ल्याए 4.0 GPA, बने पालिकाकै उत्कृष्ट

बलेफी, सिन्धुपाल्चोक — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा बलेफी गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री बाल शिक्षा माध्यमिक विद्यालय, खाडीचौरका तीन विद्यार्थीहरूले पालिकामै उत्कृष्ट प्रदर्शन गरेका छन्।

विद्यार्थी मेन्दो तामाङ, शुभेच्छा श्रेष्ठ र स्मृति नेपालले 4.0 GPA प्राप्त गरी गाउँपालिकाभित्रकै सर्वश्रेष्ठ नतिजा ल्याउन सफल भएका हुन्।

बलेफी -८ का वडा अध्यक्ष तथा सामाजिक बिकास संयोजक रमेश कुमार श्रेष्ठका अनुसार विद्यार्थीहरूको सफलता सम्पूर्ण विद्यालय, पालिका तथा अभिभावकहरूका लागि गौरवको विषय बनेको छ।

त्यस्तै गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले ती तीनैजना विद्यार्थीलाई विशेष बधाई दिँदै भन्नुभयो, “यस्तो सफलता अनुशासन, निरन्तर मेहनत र सशक्त शैक्षिक वातावरणको प्रतिफल हो। सफल विद्यार्थीहरू, विद्यालय परिवार, शिक्षकगण र अभिभावक सबैलाई हार्दिक बधाई दिन चाहन्छु।”

उहाँले बलेफी गाउँपालिकाबाट उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई पनि बधाई तथा शुभकामना दिँदै आगामी दिनहरूमा अझ राम्रो गर्न प्रेरित गर्नुभयो। साथै, उहाँले परीक्षामा असफल भएका (NG प्राप्त) विद्यार्थीहरूलाई निराश नहुन आग्रह गर्दै थप मेहनत र विश्वासका साथ अघि बढ्न सुझाव दिनुभयो।

बाल शिक्षा माविको यो सफलता बलेफी गाउँपालिकाको शिक्षा क्षेत्रको समग्र प्रगतिको संकेत हो। विद्यालय व्यवस्थापन समितिदेखि शिक्षक र अभिभावकको सहयोगले विद्यार्थीहरूलाई उत्कृष्ट नतिजा दिन सहयोग गरेको विश्वास लिइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर